टहरामा त्रिविका विभाग, कुनै मृतप्रायः कुनै अस्तित्वको खोजीमा



त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस ‘घण्टीघर’को पछाडि लहरै छन् टहराहरू । टहरामा राखिएको छ मानविकी तथा सामाजिकशास्त्र संकायका विभागहरू । यी विभाग विश्वविद्यालय जन्मिएकै (२०१६) वर्षबाट जन्मिएका हुन् । ६५ वर्षे जीर्ण टहराहरूको कोठामा छन् साँघुरा विभागहरू ।

 ‘६५ वर्षको ऐतिहासिक टहरा हो । हामी भत्काउन पनि पाउँदैनौँ । टहराकै इतिहास छ,’ इतिहास विभागका प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले भने । यी मानविकी संकायका अधिकांश विभागको भौतिक संरचनाको अवस्था उस्तै छ ।  

एम, एमफिल र पीएचडी गराउने विभागहरूमा विद्यार्थी घटिरहेको आरोप लाग्ने गरेको छ । के साँच्चिकै विद्यार्थी घटेको हुन् त ? आज हामी यिनै विभागहरूलाई क्रमश : खोतल्नेछौँ ।

हिन्दी विभाग, ३ विद्यार्थी ६ शिक्षक

बाहिर ठूलो बोर्डमा लेखिएको छ हिन्दी केन्द्रीय विभाग । तर, भित्र सानो कोठामा खुम्चिएको छ । एउटा कोठालाई विभागको लाइब्रेरी भनिएको छ तर पुस्तक छैनन्  । दुई/तीनवटा स्टिलका दराज छन्  । छेउमा ग्यास चुल्हो । लाइब्रेरी हो कि चिया पसल ? मथिङ्गल हल्लिन्छ ।

‘स्थिति गडबड छ । एउटा कक्षा कोठा । लाइब्रेरी रुममै चिया पकाउनुपर्छ । किताबहरू दराजमा पोको पारेर राखेका छौँ,’ विभागकी प्रमुख डा. सञ्जिता बर्माले व्यथा पोखिन् । यो विभाग पनि विश्वविद्यालय स्थापनासँगै खुलेको हो तर हिन्दी भएकै कारण ओझेलमा परेको उनको गुनासो छ ।

‘नयाँनयाँ विभाग खुले तर हिन्दी भएकाले ओझेलमा परेको हो । विश्वविद्यालयसँगै किन खोलियो ? अहिले किन यस्तो भयो,’ उनी आफैँ प्रश्न गर्छिन् ।  विभाग ओझेलमा पर्नुको कारण राजनीतिक खेल भएको उनको निष्कर्ष छ । ‘३० वर्षअघिसम्म राम्रो थियो । म आफैँले यहीँबाट पीएचडी गरेकी हुँ । तर, राजनीतिले आज यो हविगत भएको हो,’ उनी भन्छिन् । त्रिविकै विभाग हुँदा पनि हिन्दीको सर्टिफिकेटले त्रिविमै मान्यता नपाएको बताउँछिन् उनी ।

‘अंग्रेजी नभएकाले मान्यता पाएको छैन,’ उनी भन्छिन् । यही कारण हिन्दी विभागमा विद्यार्थीको संख्या न्यून छ । ‘मान्यता नपाएपछि कसले पढ्छ ? पढ्न चाहनेले पनि पढ्न मानेको छैन । पहिले मान्यता पाउनुपर्‍यो नि,’ मान्यता पाउन लामो समयदेखि संघर्ष गरिरहेको उनी बताउँछिन् ।

 हाल स्नातकोत्तरमा हिन्दी पढ्ने विद्यार्थीको संख्या ३ जना छ । तर, प्राध्यापक ६ जना छन् । पछिल्लो १० वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७२/०७३ मा र २०७५/०७६ मा ६/६ जना भर्ना भएका छन् । विभागका अनुसार २०७७/०७८ मा हिन्दीमा विद्यार्थी भर्ना नै भएनन् ।

शून्यमा पुगेर पुनर्जीवित भएको इतिहास विभाग

इतिहास विभागका प्राध्यापक डा. रमेशकुमार श्रेष्ठ २०४७ सालमा त्रिविकै विद्यार्थी थिए । त्यतिबेला उनको कक्षामा १५१ जना विद्यार्थी थिए तर सयवटा बेञ्च थिए । बस्ने ठाउँ थिएन । ‘उभिएर झ्यालमा आड लागेर पढ्नुपर्थ्यो । भर्ना पाइयो तर कुर्सीमा बसेर पढ्न पाइएन । इतिहास पढ्नेको आकर्षण थियो,’ ती दिन स्मरण गर्छन् उनी ।

तर, आज कुर्सी छ विद्यार्थी छैनन् । आर्थिक वर्ष २०७८/०७९ मा २१ जना विद्यार्थी भर्ना भए । यसरी विद्यार्थी घट्नुको कारण के हो त ? त्रिविबाट प्रवीणता प्रमाणपत्र तह हटाइएपछि दुर्दशा सुरु भएको उनको धारणा छ ।

‘२०६० सालबाट प्रवीणता फेज आउट भयो । विश्वविद्यालयमा ग्रहण लाग्न थाल्यो,’ उनी भन्छन् । अर्को कारण प्लस टुपछि विदेश जाने चलन बढ्यो । जसका कारण विश्वविद्यालयमै विद्यार्थीको संख्या ओरालो लागेको उनी बताउँछन् ।

‘प्लस टु आएपछि विश्वविद्यालयमा थप ग्रहण लाग्यो । विद्यार्थी अमेरिका अस्ट्रेलिया युरोप क्यानडा जाने लहर आयो । अनि विश्वविद्यालयमा कसरी विद्यार्थी हुन्छन् ?,’ उनी भन्छन् ।

त्रिविका पदाधिकारीले जथाभावी सम्बन्धन दिएका कारण गाउँगाउँमा क्याम्पस खुलेकाले विश्वविद्यालयमा विद्यार्थी नभएको तर्क उनको छ ।  जथाभावी अनावश्यक विश्वविद्यालय खुलेकाले पनि त्रिविमा विद्यार्थी नभएको उनी बताउँछन् ।

‘भीसी, रेक्टर, रजिस्ट्रार बन्न, गाडी चढ्न, नयाँ विश्वविद्यालय खोलियो । विद्यार्थी बाँडिए,’ उनी भन्छन् । गत स्ववियु चुनावको कुरा हो । उनी निर्वाचन अधिकृत थिए । मानविकी संकायमा भोटर विद्यार्थी ९३२ जना थिए । जबकि उनी विद्यार्थी हुँदा मानविकीको एउटै विभागमा १ हजारभन्दा बढी भोटर हुन्थे । हाल मानविकीका २३ वटा विभाग छन् ।

‘गत स्ववियु चुनावमा त्रिविमा जम्मा ४ हजार ३ सय २२ भोटर विद्यार्थी थिए । हामी विद्यार्थी हुँदा एउटै संकायमा ८ हजारभन्दा बढी हुन्थे,’ उनी भन्छन्, ‘यो लाजमर्दो भएन ?’ चरम राजनीतिका कारण यस्तो भएको उनको निचोड छ ।

यद्यपि, इतिहास पढ्ने विद्यार्थीको संख्या फेरि उकालो लाग्न थालेको उनी बताउँछन् । स्नातकमा जुनसुकै विषय पढेकाले पनि इतिहास पढ्न पाउने व्यवस्था गरेपछि विद्यार्थी भर्ना बढेको हो ।

‘बीबीएस, आईटी, विज्ञान पढेका पनि इतिहास पढ्न आइरहेका छन् । राष्ट्रियता चिनाउने विषय भएकाले लोक सेवा तयारी गरिरहेका र सेनाका कर्णेल र नेता पनि पढ्न आइरहेका छन्,’ उनले भने । इतिहासमा केही वर्ष भने विद्यार्थीको संख्या न्यून भएको स्वीकार गर्छन् विभाग प्रमुख डा. विष्णुप्रसाद सापकोटा ।

‘अहिले प्रशस्त मात्रामा छन् । द्वन्द्वको समयमा कम भएको थियो । त्यो बेला इतिहास मेटिए । राजा महाराजाको इतिहास किन पढ्ने भनियो । बुर्जुवा शिक्षा भनियो । अहिले फेरि इतिहास विभाग पुनर्जीवित भएको छ,’ उनले भने । पछिल्लो वर्षमा टेक्निकल विषय पढ्दा जागिर पाइन्छ भनेर इतिहासजस्ता विषय छायामा परेको उनको निचोड छ ।

‘डाक्टर, इञ्जिनियरजस्ता टेक्निकल विषय पढे जागिर पाइन्छ भन्ने भयो । इतिहास पढेर के हुन्छ भनियो । तर, अहिले विदेश गएकाहरूसमेत नेपालबारे बुझ्न इतिहास पढ्न थालेका छन्,’ उनी भन्छन् । २०७३/०७४ मा इतिहास पढ्न विद्यार्थी नै आएका थिएनन् । त्यसपछि भने विभागमा विद्यार्थी खाली नभएको बताउँछन् प्रमुख सापकोटा ।

नेपाल चिनाउने भवन खोज्दै संस्कृति विभाग

पुरानो टहरामा छ संस्कृति तथा पुरातत्त्व विभाग । संस्कृति तथा पुरातत्त्व विभाग भनेपछि नेपालको अनुहार आउनुपर्ने हो तर कतै भेट्दैनन् विभागका प्रमुख डा. सोमप्रसाद खतिवडा । ‘२०१६ सालमा यी टहरा भारतले बनाइदिएको हो । संस्कृति पढाउने विभागको भवन नेपालको डिजाइनमा हुनुपर्छ,’ उनी भन्छन् ।

त्यसैले उनले भारतीय दूतावाससँग बल्लबल्ल सहमति गरेका छन् । अब विभाग नेपाल चिनाउने भवन बनाउने योजनामा छ ।

‘भवन देशको अनुहार झल्कने हुनुपर्छ । अहिलेको भवनले नेपाल झल्किँदैन । भवन बनाउन भारतीय दूतावाससँग जीटुजीमा ५ करोड पास गराएको छु,’ उनले भने । भवन निर्माण समिति र डिजाइनसमेत भएकाले १५ महिनाभित्र भवनको काम सक्ने उनको योजना छ ।

‘दुई तलाको हुन्छ । टुडाल, तोरण र कलात्मक भवन बनाउँछौँ । म्युजियममा पुराना मूर्ति राख्छौँ । बैठक हल र रिसर्च कोठा बनाउँछौँ,’ उनले सुनाए । विभागका लागि २५ जना विद्यार्थीको कोटा भएकाले सोहीअनुसार कक्षा कोठा बनाउने उनी बताउँछन् । यसबाट थप विद्यार्थी आकर्षित हुने अपेक्षा छ ।

उनको विभागमा भने विद्यार्थी नघटेको उनको दाबी छ । ‘२५ जनाको कोटा हो, विद्यार्थी संख्या घटेको छैन । फिल्डमा गएर उत्खनन गर्नुपर्छ । विद्यार्थी हरेक साल बढ्दो छ,’ उनी भन्छन् । पुरातत्त्व, मुद्राशास्त्र, अभिलेख, ताम्रपत्र, पुराना लिखत, वास्तुकला, मूर्ति विज्ञान, कल्चर टुरिज्मजस्ता विषय पढाइ हुने भएकाले विद्यार्थीको आकर्षण रहेको प्रमुख खतिवडा बताउँछन् ।  

अरु विषयका विद्यार्थीं तान्दै भूगोल विभाग 

भूगोल विभागका प्रमुख डा. उमेशकुमार मण्डल विद्यार्थी घट्नुमा जनसंख्या नै घटेकोसँग तुलना गर्छन् । विभागमा मात्र नभई विश्वविद्यालयमै विद्यार्थी घटेको तर्क उनको छ ।

‘जनसंख्या घटेको छ । नेपालमा बसोबास गर्नेको संख्या पनि घट्दो छ । अनि विद्यार्थीको संख्या घट्दैन त ?,’ उनी प्रश्न गर्छन् । उच्च शिक्षाका लागि विदेश जाने लहर चलेका कारण विद्यार्थी कम भएको उनको निचोड छ ।

‘यहाँ सर्टिफिकेट हुन्छ । रोजगार हुँदैन । बाहिर सर्टिफिकेट लिनेबित्तिकै रोजगार हुन्छ । देशमा रोजगार सिर्जना गर्न सकिएन । कसरी विद्यार्थी बस्छन् ? हाम्रो देश कृषिप्रधान देश होइन । श्रम निर्यात गर्ने देश बन्यो,’ उनी भन्छन् । यसका बाबजुत पनि विभागमा विद्यार्थी रहेको उनले बताए ।

‘स्नातकमा भूगोल नपढेकाले पनि स्नातकोत्तरमा भूगोल पढ्न पाउने व्यवस्था गर्‍यौँ । अरु विषयका विद्यार्थीं तान्यौँ,’ उनले भने । अरु विषय पढेका विद्यार्थी ल्याएर भूगोल पढाउन विभाग बाध्य भएको छ ।

‘अहिलेका स्याटेलाइट उपग्रहहरू र पृथ्वीको अध्ययन गर्ने विषय हो । विद्यार्थीको आकर्षण देखिन्छ,’ प्रमुख मण्डल भन्छन्, ‘विद्यार्थीको संख्या धेरै राख्न पनि सकिँदैन । स्याटेलाइटबाट खिचेको तस्वीरको अध्ययन अनुसन्धान गर्नुपर्छ । प्राक्टिकल धेरै हुन्छ ।’ हाल २४ जना विद्यार्थीले भूगोल अध्ययन गरिरहेका छन् ।  संरक्षण खोज्दै बौद्ध अध्ययन विभाग

बुद्धिज्म विभागमा २०७९ सालमा १६ जना विद्यार्थी भर्ना भए । अघिल्लो वर्षभन्दा १ जना कम भयो । २०७८ सालमा १७ जना विद्यार्थी भर्ना भए ।  बुद्धिज्म विषय पढ्नेको संख्या धेरै आवश्यक नरहेको बताउँछिन् विभागकी प्रमुख डा. चन्द्रकला घिमिरे ।

‘बुद्धिज्ममा संख्या धेरै चाहिन्छ भन्ने छैन । तर, सरकारले लगानी गर्नुपर्छ । यो विषयको जगेर्ना गर्नुपर्छ,’ उनी भन्छिन् । देश, समाज र मानिसका व्यवहारको अध्ययन गर्ने भएकाले यो विषयको संरक्षण गर्नुपर्ने मत उनको छ ।

‘तत्कालै जागिर पाइने विषय होइन । समाजप्रति उत्तरदायी, सेवाभाव, करुणामैत्री बनाउने हो । समाजलई सही बाटोमा डोर्‍याउन प्रेरित गर्छ,’ उनी भन्छिन् ।  

अंग्रेजीको त्यो क्रेज 

अंग्रेजी विभागअगाडि एक प्राध्यापकले भने, ‘हामी पढ्ने समयमा १ हजारभन्दा बढी विद्यार्थी हुन्थे । विद्यार्थीले शिक्षकलाई घेर्थे । आज विद्यार्थी संख्या घटेको छ ।’ अंग्रेजी साहित्य पढ्नेहरूको संख्या अत्यधिक हुन्थ्यो ।

ती प्राध्यापकका अनुसार काठ्माडौंका नाटक घरसमेत अंगेजी साहित्यका विद्यार्थीले भरिन्थे । ‘अंग्रेजीमा भर्ना गर्न कुनै समय सोर्सफोर्स लगाउनुपर्ने अवस्था थियो,’ ती प्राध्यापकले भने । तर, आज विश्वविद्यालयमै विद्यार्थीको संख्या न्यून छ ।

‘२०७० सालबाट सेमेस्टर प्रणाली लागू भयो । हाजिर हुनुपर्ने र नियमित कक्षामा आउनुपर्ने भएपछि विद्यार्थी संख्या घटेको हो,’ विभागका प्रमुख डा. जीवलाल सापकोटा भन्छन् । वार्षिक हुँदा भर्ना गर्ने र परीक्षाका लागि मात्र आउने विद्यार्थी हुन्थे तर सेमेस्टरले विद्यार्थी घटेको निचोड अंग्रेजी विभागको छ । विद्यार्थी घट्नुको अर्को कारण १२ कक्षापछि विद्यार्थी विदेश जानु हो ।

‘रोजगार छैन । १२ कक्षापछि विद्यार्थी विदेश जान्छन् । यसको निरीक्षण छैन । शिक्षा मन्त्रालय छ, १२ सम्म मात्र हेर्छ । अनुगमन नै भएन,’ उनी भन्छन्, ‘त्रिविकै सेम कोर्स राखेर अरु विश्वविद्यालय खोलेका कारण पनि विद्यार्थी संख्या घटेको हो ।’

व्यवस्थित गर्ने राष्ट्रिय नीति भए अझै पनि सही ठाउँमा ल्याउन सकिने दाबी गर्छन् प्रमुख सापकोटा । ‘सुव्यवस्थित गर्ने राष्ट्रिय शिक्षा नीति भएन । १५,२०,३०,५० वर्षमा विश्वविद्यालयलाई कहाँ पुर्‍याउने, कस्तो बनाउने भन्ने मिसन, भिजन र गोल भयो भने ट्र्याकमा ल्याउन सकिन्छ,’ उनी भन्छन् ।

२०७८ सालमा अंग्रेजीमा १०० जना विद्यार्थी भर्ना भएकोमा २०७९ मा ५५ जना मात्र भर्ना भए । करिब आधा संख्या कम भयो । हाल अंग्रेजी जुन विषय पढेकाले पनि पढ्न पाउने व्यवस्था गरिएको छ । यसअघि स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड थियो । अहिले खुकुलो बनाइएको हो ।

जुनसुकै विषय पढेकाले नेपाली पढ्न पाउने

स्नातकोत्तर तहमा नेपाली पढ्नका लागि स्नातकमा पनि नेपाली नै पढ्नुपर्ने थियो । तर, यो मापदण्ड हटाइएको छ । प्रयोगात्मक विषय नभएकाले मापदण्ड परिवर्तन गरिएको तर्क त्रिविको छ । कतिपयले विद्यार्थीको संख्या न्यून भएकै कारण यो व्यवस्था ल्याइएको टिप्पणी गरेका छ्न्  ।

तर, नेपाली विभागका प्रमुख डा. खगेन्द्रप्रसाद लुइँटेल अस्वीकार गर्छन् । ‘त्यो पटक्कै होइन । अन्तर्राष्ट्रिय अभ्यास हो । स्नातकमा भर्ना हुन प्लस टुमा जुन विषय पढेको भए पनि हुन्छ । अनि स्नातकोत्तरमा पनि त्यस्तै गरेको हो । भाषाको विरोध र तोडमोड गर्नेले विरोध गरेका हुन्,’ उनी भन्छन्, ‘पहिल्यै निर्णय हुनुपर्थ्यो । ढिला भयो, उत्तम भयो ।’

स्नातकोत्तरमा नेपाली पढ्न प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने मापदण्ड रहेको बताउँछन् उनी । ‘जो पायो त्यहीले पढ्न पाउँदैन । प्रवेश परीक्षा पास हुनुपर्छ । आन्तरिक परीक्षा हुन्छ । भाषाको विस्तार र विकासका लागि त्रिविले निर्णय गरेको हो,’ उनी भन्छन् ।  

भर्ना घटेको होइन, ड्रप आउट बढेको हो 

त्रिविको तथ्यांकअनुसार विद्यार्थीको भर्ना घटेको छैन । भर्ना हुनेको संख्या बर्सेनि बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा ५ लाख ३७ हजार ८६९ विद्यार्थी भर्ना भएका थिए । अघिल्लो वर्ष ४ लाख २२ हजार ६५३ जना थियो । ५ वर्षको तथ्यांक हेर्दा विद्यार्थी भर्ना बढेको छ । घटेको छैन ।

तर, विद्यार्थी ‘डप आउट’को संख्या भने बढेको छ । परीक्षा नियन्त्रण कार्यालका अनुसार परीक्षामा सामेल हुने विद्यार्थीको संख्या घटिरहेको छ । जस्तै; मानविकी संकायमा २०७८ सालमा १३ हजारले परीक्षाका लागि फाराम भरेका थिए ।

तर, तेस्रो वर्षको परीक्षामा ९ हजारले मात्र फारम भरे । २०७८ मा बीबीएस पहिलो वर्षको परीक्षामा १ लाख १० हजार परीक्षार्थी रहेकोमा अहिले तेस्रो वर्षमा ६० हजारले फारम भरे ।

२०७८ सालमा बीएड पहिलो वर्षमा ६५ हजार विद्यार्थी थिए । तेस्रो वर्षमा ३२ हजारले फारम भरे । त्यसैगरी, विज्ञान तथा प्रविधिमा पनि विद्यार्थीको संख्या घटेको छ ।

२०७८ सालमा ७ हजार विद्यार्थी रहेकोमा तेस्रो वर्षको परीक्षामा ६ हजार मात्र छन् । यो तथ्यांकले ड्रप आउट बढेको देखिन्छ । चारवर्षे कोर्सका कारण विद्यार्थी परीक्षामा नआएको तर्क त्रिविको छ । र, चारवर्षे कोर्सलाई फेरि तीन वर्षमा झार्ने तयारी त्रिविको छ ।  

शिलापत्रमा पहिलो पटक प्रकाशित भएको हो ।

बिहीबार, मंसिर २८, २०८०

https://shilapatra.com/detail/126680


Related Posts