वर्षमै डेढ लाख विद्यार्थीबाट विदेशियो एक खर्ब, विश्वविद्यालय भने विद्यार्थीको खोजीमा



दिनेश गौतम

गत साता त्रिभुवन विश्वविद्यालयका विभागहरूमा पुग्यौँ । विभागहरू विद्यार्थीको प्रतीक्षामा थिए, विद्यार्थीहरू न्यून देखिए । विषयबारे बुझ्न विद्यार्थी आउँदा शिक्षक खुसी देखिन्थे । विद्यार्थीलाई तान्न शिक्षकले कसरत गरिरहेका थिए ।  

उता प्राध्यापक कक्षामा पढाउन पुग्छन् तर विद्यार्थी हुँदैनन् । त्रिविको तथ्यांकले विद्यार्थी घटेको पनि देखाउँदैन, बढेकै देखिन्छ । तर, कक्षा कोठामा विद्यार्थी न्यून हुन्छन् । 

त्यसपछि त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्यौँ । बल्खुको तथ्यांक हेर्दा परीक्षामा सामेल हुने विद्यार्थीको संख्या कम पाइयो । अर्थात् बीचमा पढाइ छोड्ने (ड्रप आउट) विद्यार्थीको संख्या बढेको तथ्यांक पाइयो ।

अब प्रश्न आउँछ, विद्यार्थी बीचमै कहाँ हराए त ? किन ‘ड्रप आउट’ बढिरहेको छ ? आजको अंकमा हामीले यिनै विद्यार्थीलाई खोज्न विभिन्न ठाउँमा फन्को मारेका छौँ ।

एनओसी शाखाको लाइनमा विद्यार्थी

बिहीबार दिउँसो भक्तपुरको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा पुग्दा ठूलो भिड थियो । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन विद्यार्थीको तँछाडमछाड थियो ।

बुटवलबाट आएकी अस्मिता पोखरेल त्यो भिडबाट रुँदै बाहिर निस्किन् । ‘भाइको एनओसी भेरिफिकेसन भएन । बाहिर कलेजमा भोलि शुल्क बुझाउनुपर्छ । यतिबेलासम्म भेरिफाई भएन,’ अस्मिताले रुँदै भनिन् ।

अस्मिताका भाइ गगन भने दिदीलाई अँगालो हालेर आँखाको आँसु पुछिरहेका थिए । १२ उत्तीर्ण गरेका गगन स्नातक अध्ययनका लागि अस्ट्रेलिया जान लागेका हुन् । लाइनमा रहेका अर्का एक व्यक्तिले थपे, ‘देश छोड्न मान्छेहरू रोइरहेका छन् ।’

कोरिया जान लागेका धरानका सौगात राई पनि एनओसीको प्रतीक्षामा थिए । ‘ब्रिटिस आर्मीमा भिडेको, भएन । अब कोरिया जान लागेको हुँ । भोलि शुल्क बुझाउनुपर्ने, एनओसी भेरिफिकेसन भएको छैन,’ उनले आफ्नो समस्या सुनाए ।

१२ कक्षा उत्तीर्ण गरेकी चितवनकी सोनिका सापकोटा पनि लाइनमा थिइन् । उनी उच्च शिक्षाका लागि क्यानडा जाने तयारीमा छिन् । किन देश छोड्न लाग्नुभएको भन्ने प्रश्नमा उनले भनिन्, ‘हेुर्नस् त यहाँको ताल । यहीँ देखिन्छ नेपाल कस्तो छ ।’ एनओसी नपाएर झोँक्किएकी उनी थप बोल्न चाहिनन् ।

कीर्तिपुरका सञ्जीव थापा शंकरदेव क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । उनी बीचमै पढाइ छोडेर अस्ट्रेलिया जाने योजनामा छन् । त्यसैले उनी एनओसीको लाइनमा आएका हुन् । ‘सीए पढेको दाइ त विदेश जान लाग्नुभएको छ । यहाँ काम छैन, किन बस्ने ?,’ उनले प्रश्न गरे ।

एनओसी लिन पुगेका अधिकांश कोही १२ सकाएका त कोही स्नातक र स्नातकोत्तर पढ्दै गरेका विद्यार्थी थिए । एनओसीको लाइनमा बसेका अधिकांश विद्यार्थीहरू क्याम्पसमा भर्ना भएर विदेश जाने चक्करमा लागेकाहरू थिए । सानोठिमीमा एनओसी लिन बिहानैदेखि विद्यार्थीहरूको लाइन लाग्ने गरेको छ ।

एनओसी शाखाका प्रमुख शान्तिराम पौडेलका अनुसार विदेशमा अध्ययन गर्न एनओसी लिन विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ ।  आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजार २ सय १७ जनाले एनओसी लिए । अघिल्लो आर्थिक वर्षमा झन् बढी १ लाख १७ हजार विद्यार्थीले एनओसी लिएको शाखाको तथ्यांकले देखाउँछ । 

कन्सल्टेन्सी र म्यानपावरमामा भेटिन्छन् विद्यार्थी

एनओसी शाखामा पुग्ने अधिकांश विद्यार्थी कन्सल्टेन्सीमाफर्त पुगेका थिए । क्याम्पसमा भर्ना गरेर वैदेशिक अध्ययनको प्रक्रिया थाल्न विद्यार्थीहरू कन्सल्टेन्सी धाउने गरेको सञ्चालकहरू बताउँछन् ।

‘५० प्रतिशत विद्यार्थीहरू भर्ना गरेर आउने छन् । भिसा  लाग्यो भने विदेश जाने, नभए यहीँ पढ्ने भनेर भर्ना गरेर बसेको पाइन्छ,’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष प्रकाश पाण्डे भन्छन् । अध्ययन भिसा नलागेपछि विद्यार्थीहरू म्यानपावर कम्पनीको ढोका ढकढकाउन पुग्ने रहेछन् ।

‘सुरुमा कन्सल्टेन्सी पुग्छन् । त्यहाँ नभएपछि म्यानपावर कम्पनीमा आउने विद्यार्थी धेरै हुन्छन्,’ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल भन्छन्, ‘विद्यार्थी भर्ना हुने र राम्रो अवसर पाएपछि पढाइ छोडेर विदेश जानेको संख्या धेरै हुन्छ । यो ध्रुवसत्य कुरा हो ।’

आर्थिक अवस्था राम्रो भएकाहरू युरोप, अमेरिका क्यानडा, अस्ट्रेलिया जाने र आर्थिक अवस्था कमजोर हुनेहरू  ‘वर्किङ भिसा’ मा विदेश जाने गरेको परामर्शदाताहरू बताउँछन् । आर्थिक वर्ष २०७९/०८० मा श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च रह्यो । वैदेशिक रोजगार विभागको आँकडाअनुसार अवसरको खोजीमा गत वर्ष मात्र ७ लाख ७१ हजार ३२७ ले श्रम स्वीकृति लिएका थिए । ‘वैदेशिक रोजगारीमा गएको यो अहिलेसम्मकै ठूलो संख्या हो,’ महासचिव भुर्तेल भन्छन्, ‘राज्यले यहाँ रोजगार सिर्जना गर्न सकेन ।’

ईपीएस शाखामा लाइन

वैदेशिक रोजगार विभागमातहतको ईपीएस कोरिया शाखामा उच्च शिक्षा अध्ययन गर्नुपर्ने विद्यार्थीको लाइन राेजगारीमा जान लाग्छ । शुक्रबार १३ पुसका दिन कोरिया भाषा परीक्षा पढिरहेका युवाको ज्यान गयो । देश छोड्न लागेका दैलेखका २२ वर्षीय सुजन रावत र अछामका २३ वर्षीय वीरेन्द्र शाह ठकुरीले काठमाडौंको बालकुमारीमा संसारै छोड्न विवश भए ।

‘सिप बिल्डिङ’ मा गत साउनमा लिइएको भाषा परीक्षामा सामेल भएकालाई उत्पादनमूलक क्षेत्रमा वञ्चित गरिएको भन्दै आन्दोलित भएका थिए सुजन र वीरेन्द्र । आन्दोलनको क्रममा उनीहरूको ज्यान गयो । कोरिया जाने उनीहरूको सपनामा पूर्णविराम लाग्यो । कोरिया जान चाहने युवा विद्यार्थीको लामो लाइन लाग्छ ।

अनि त्रिभुवन विमानस्थलहुँदै उडान भर्छन्

रातिको ९ बजेको छ । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा ठूलो भिड छ । देश छोड्न तयार भएका विद्यार्थीको लाइन छ । बाइबाइ नेपाल भन्नेहरूको चर्को ध्वनि सुनिन्छ । सँगै छोराछोरी छोड्न आएका आफन्तहरूको रुवाबासी पनि । आँखामा आँसु टिलपिलटिलपिल पारेर बिदाइका हातहरू हल्लाइरहेका छन् । अधिकांशको काँधमा नेपालको झण्डा थियो । झण्डा ओढेर उनीहरू भनिरहेका थिए, ‘बाइबाइ नेपाल ।’

यही भिडमा थिए चितवनका निर्देशबाबु घिमिरे । नेपालमा आईटीमा स्नातक गरेका उनले तीन वर्ष काम गरे । तर तलब भनेजस्तो पाएनन् । समयमा पनि नआउने । अब के गर्ने ? अन्तत: विदेशको विकल्प उनले देखेनन् । र, उनी बिहीबार उच्च शिक्षाका लागि अस्ट्रेलिया उडे । उनी १२ कक्षा पढेर विदेश जान खोजेका थिए तर परिवारले अनुमति दिएन । यसपटक भने निर्देशलाई परिवारले पनि रोक्न सकेन ।

‘पटकपटक रोक्यौँ तर यसपटक सकिएन । तीन वर्ष यहीँ काम गरेको, तलब थोरै थियो । २०/२५ हजारले के गर्ने ? छोरोलाई विदेश पठाउने रहर कहाँ थियो र ? यसपटक बाध्य भयौँ,’ निर्देशका बुबा नारायण घिमिरेले भने ।

६० वर्षीष नारायण कान्छो छोराले देश छोड्दै गर्दा विमानस्थलमा निराश देखिन्थे । उनले थपे, ‘जेठो पनि खुट्टा उचालेर बसेको छ । एउटा हिँड्यो । अर्को पनि हिँड्न लागेको छ,’ उनी अवाक् बने । त्रिभुवन विश्वविद्यालयमा जानुपर्ने विद्यार्थीहरू यसरी त्रिभुवन विमानस्थलबाट सपनाको उडान भरिरहेका छन् ।

प्राध्यापक डा. चैतन्य मिश्र देशले काम दिन नसक्दा विद्यार्थीहरू अवसरको खोजीमा यसरी भौँतारिइरहेको तर्क गर्छन् । ‘बाहिर जाने कामका लागि हो । देशले काम दिन सकेन । त्रिभुवन विमानस्थल मात्र होइन, लोक सेवा पनि पुगेका हुन्छन् । पढ्ने र कमाउने बाटो विद्यार्थीले खोजेको हुन्छ,’ मिश्र भन्छन् । 

विद्यार्थीसँगै मोटो रकम पनि बाहिरियो

विमानस्थलबाट विद्यार्थी मात्र बाहिरिएनन् । उनीहरूसँगै मोटो रकम पनि बाहिरिएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजारले एनओसी लिँदा १ खर्ब रुपैयाँ बाहिरिएको छ  । 

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई १४४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये शिक्षातर्फको व्यय १०० अर्ब ४२ करोड छ । अघिल्लो वर्ष भ्रमण व्यय ९७ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड थियो ।’

विदेशमा पढाइसँगै राम्रो आम्दानी हुने भएकाले मोटो रकम खर्च गरेर विद्यार्थी विदेश गएको बताउँछन् इक्यानका पूर्वअध्यक्ष पाण्डे । ‘अस्ट्रेलियामा स्नातक गरेपछि मासिक ५ हजार डलर कमाउन सक्छ । एक/दुई वर्षको अनुभव भएपछि १० हजार डलर पुग्छ । नेपालमा निजीमा २०/२५ हजार र सरकारीमा ५० हजार हुन्छ । ५० हजारले घर गाडी जोड्न सकिन्छ । त्यसैले अवसरको खोजीमा खर्च गरेर विद्यार्थी विदेशिएका छन्,’ उनी भन्छन् । 

ड्रप आउट’ ! श्रम निर्यात 

त्रिविमा बर्सेनि विद्यार्थीको संख्या बढेको देखिन्छ । तर, परीक्षामा सामेल हुनेको संख्या कम छ । परीक्षा नियन्त्रक पुष्पराज जोशी ड्रप आउट बढेको बताउँछन् । ‘१ लाखले एनओसी लिएको देखिन्छ । बीचमै पढाइ छोडेर विदेश गएको यो तथ्यांकले देखाउँछ,’ उनी भन्छन् ।

अर्को कारण, विश्वविद्यालय र संकाय फेर्ने गरेकाले पनि ड्रप आउट बढेको उनको भनाइ छ । विद्यार्थीले विवाहपछि पढाइ छोड्ने गरेको उनी बताउँछन् ।‘जागिर र विवाहले ड्रप आउट बढेको हो,’ उनले भने । पनिकाको तथ्यांकअनुसार  परीक्षामा सामेल हुनेको संख्या घटिरहेको छ ।

बीचमै पढाइ छोड्ने अधिकांश विद्यार्थी विदेश पलायन भएको प्राज्ञहरूको निष्कर्ष छ । ‘यहाँ सर्टिफिकेट हुन्छ । रोजगार हुँदैन । बाहिर सर्टिफिकेट लिनेबित्तिकै रोजगार हुन्छ । देशमा रोजगार सिर्जना गर्न सकिएन । कसरी विद्यार्थी बस्छन् ? हाम्रो देश कृषिप्रधान देश होइन, श्रम निर्यात गर्ने देश बन्यो,’  त्रिवि भूगोल विभागका प्रमुख डा. उमेशकुमार मण्डल भन्छन् । 

जनसंख्या घट्दै गएका कारण विद्यार्थीको संख्या पनि कम हुँदै गएको बताउँछन् प्राध्याकप मिश्र । ‘४५ वर्षअघि एक जनाले ६ जनासम्म बच्चा जन्माउने गरेको थियो । हिजोआज बढीमा दुई सन्तान जन्माउँछन् । जनसंख्या कम भएपछि विद्यार्थीको संख्या कम हुनु स्वाभाविक हो,’ उनले भने ।  

तत्काल राष्ट्रिय शिक्षा नीतिको आवश्यकता रहेको ठान्छन् त्रिवि अंग्रेजी विभाग प्रमुख डा. जीवलाल सापकोटा । ‘सुव्यवस्थित गर्ने राष्ट्रिय शिक्षा नीति भएन । १५,२०,३०,५० वर्षमा विश्वविद्यालयलाई कहाँ पुर्‍याउने, कस्तो बनाउने भन्ने मिसन, भिजन र गोल भयो भने ट्र्याकमा ल्याउन सकिन्छ,’ उनी भन्छन् ।

इतिहास विभाग प्रमुख डा. विष्णुप्रसाद सापकोटा पनि राज्यको नीतिसँग पढाइ जोडिनुपर्ने मत राख्छन् । ‘राज्यको नीतिसँग पढाइ जोडिएको हुन्छ । राज्यले युवा जनशक्तिलाई रोजगारी दिन सकेन । जीविकोपार्जनका लागि विद्यार्थी रोजगार खोज्न जान्छन् । यसका लागि विदेश जाने भयो,’ उनले भने ।

समयमा परीक्षा, नतिजा नआउने र कोर्स पूरा नहुने समस्याका कारण विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेको बताउँछन् पाण्डे । ‘तीनवर्षे कोर्सलाई चार वर्षको बनाइएको छ । त्यही कोर्स पूरा गर्न पाँच वर्ष लाग्छ । बाहिर गयो भने तीन वर्षमा सकिन्छ । यसले ड्रप आउट बढेको हो,’ उनी भन्छन् । नेपालमै विदेशी विश्वविद्यालयको कोर्स पढाइ भइरहेकाले पनि नेपाली विश्वविद्यालयमा ड्रप आउट बढेको उनको भनाइ छ । ‘विदेश मात्र गएका छैनन् । विदेशी डिग्री नेपालमै पढ्न पाइन्छ । विद्यार्थी त्यता पनि गएका छन्,’ उनी भन्छन् । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी विश्वविद्यालयहरूले विद्यार्थी तान्न नसकेको तर्क गर्छन् । ‘विद्यार्थी पढ्न विदेश गइरहेका छन् । विश्वविद्यालयहरूले समयमा नतिजा, भर्ना, परीक्षा गर्न नसकेर अभिभावक र विद्यार्थी आत्तिएका छन्,’ उनी भन्छन्, ‘विद्यार्थीलाई कक्षाकोठामा राख्ने र डिग्री पूरा गर्ने वातावरण बनाउनुपर्छ ।’

विदेशी विश्वविद्यालयहरू नेपाल आएर परामर्श दिएर विद्यार्थी लगिरहँदा पनि नेपाली विश्वविद्यालयले त्यो खालको परामर्श दिन नसकेको मत राख्छन् अध्यक्ष अधिकारी । ‘विद्यार्थी होल्ड गर्न सकिन्छ तर परामर्श दिन सक्नुपर्छ । विद्यार्थी क्याम्पस जान मानेका छैनन् । क्यालेन्डर बनाएर काम गर्न विश्वविद्यालयलाई भनेका छौँ,’ उनी भन्छन्, ‘अब पहिलेजस्तो विद्यार्थी सहजै आउँदैनन् । विश्वविद्यालयहरूले आफ्नो प्रचार गर्नुपर्छ ।’

सरकारसँग छैन विद्यार्थी रोक्ने योजना

विद्यार्थी, अभिभावक र प्राज्ञहरू नेपालमै विद्यार्थी होल्ड गर्न सही नीति आवश्यक रहेको बताउँछन् । तर, सरकारसँग अहिलेसम्म ठोस योजना छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विद्यार्थीसँगै पैसा पनि बाहिरिएकोमा जानकार छ ।

‘१२ कक्षामा साढे २ लाख उत्तीर्ण हुँदा गत वर्ष १ लाखले एनओसी लिए । यो डाटाले संवेदनशील बनाएको छ,’ मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा भन्छन्, ‘यस्तो डाटा आउँछ भनेर गोलीगट्ठा तयार गरेर बसेको हुँदैन । आकस्मिक रूपमा आएको छ । सरोकारवालासँग छलफल गरिरहेका छौँ ।’

विद्यार्थी बाहिरिनुको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरेको उनी बताउँछन् । ‘गम्भीरताका साथ काम गरिरहेका छौँ । केही समयमा रिपोर्ट आउँछ,’ उनी भन्छन् । 

शिलापत्रमा पहिलो पटक प्रकाशित भएको हो ।

आइतबार, पुस १५, २०८०

https://shilapatra.com/detail/127706


Related Posts