
निम्नमाध्यमिक तहको शिक्षकमा नाम निकालेपछि पाँचथर फाल्गुनन्द गाउँपालिका– १ की २० वर्षीया लेकीडोमा तामाङ चर्चामा छिन् । कोशी प्रदेशबाट गणित विषयमा उनले नाम निकालेकी हुन् । कान्छी शिक्षक भनेर बधाई र शुभकामना थाप्न उनलाई भ्याइनभ्याइ छ । ‘यति धेरै चर्चा हुन्छ भनेर सोचेको थिइनँ । बधाई र शुभकामना आइरहेको छ । खुसी लाग्यो,’ उनले भनिन् ।
१४ वर्षमा एसईई र २० वर्षमा शिक्षक बनेकी हुन् उनी । नागरिकताअनुसार उनको उमेर २० वर्षको हुन्छ तर जन्मका आधारमा १९ वर्षकी मात्र भएकी छिन् । ‘एसईई दिन १४ वर्ष पूरा हुनुपर्ने थियो । कि कक्षा दोहोर्याउनुपर्ने भयो, कि उमेर बढाउनुपर्ने भयो । कक्षा नदोहोर्याएर उमेर बढाएर एसईई दिएकी हुँ,’ उनले भनिन् । लेकीडोमाका ममी बुबा पनि शिक्षण पेसामै छन् ।
‘बुबाममीले नै पढाउने स्कुल सिद्धकालिका माविमा १ देखि १० सम्म पढेकी हुँ । १ देखि ५ कक्षासम्म दोस्रो भएँ । ६ देखि १० सम्म प्रथम भएकी थिएँ । सानैदेखि पढाइ राम्रो थियो । घरमै बुबाममी शिक्षक भएर होला,’ उनले भनिन्, ‘हाजिरीजवाफ वक्तृत्वकला र क्वीजमा पनि भाग लिन्थेँ । जिल्लास्तरीय प्रतियोगितामा प्रथम पनि भएकी छु ।’
सानैदेखि उनलाई गणित विषयमा रुचि थियो । कक्षा ९ र १० मा ऐच्छिक गणित विषय पढ्ने उनी एक्लो विद्यार्थी थिइन् । ‘मेरो ब्याचमा म मात्र थिएँ गणित विषय पढ्ने । पालिकामा मेरो लागि एउटा मात्र प्रश्न आउँथ्यो,’ लेकीडोमा भन्छिन् ।
विद्यालयमा उनी साथीहरूलाई समेत गणित विषय सिकाउँथिन् । ‘बुबा गणितको शिक्षक भएकाले साथीहरू घरमै ट्युसन पढ्न आउनुहुन्थ्यो । धेरैजसो मैले सिकाउँथेँ । मैले सिकाएकोमा साथीहरू खुसी भएको देख्दा खुसी लाग्थ्यो,’ उनी भन्छिन् । यसरी उनले २०७४ मा एसईई उत्तीर्ण गरिन् ।
त्यसपछि उनी ११ र १२ कक्षा पढ्न पाँचथरको फिदिम आइन् । ‘कञ्चनजंघा माध्यमिक विद्यालयबाट गणितमै १२ उत्तीर्ण गरेँ,’ लेकीडोमा भन्छिन् । ११ र १२ मा पनि गणित विषय पढ्ने उनी एक्लो विद्यार्थी थिइन् । ‘सरको घरमा गएर पढेर परीक्षा दिन्थेँ । गणित विषय पढ्ने एक्लो थिएँ,’ उनी भन्छिन् । २०७८ मा लेकीडोमा मोरङ बहुमुखी क्याम्पसमा भर्ना भइन् । उनी यतिबेला दोस्रो वर्षमा अध्ययनरत पनि छिन् । २०७९ मा उनले शिक्षकको लाइसेन्स लिएकी थिइन् । र, २०८० मा शिक्षकमा नाम निकाल्न सफल भइन् ।
‘ब्याचलर सकेर मात्र दिने योजना थियो तर बुबाममीले पास फेल जे भए पनि भिड्न भनेपछि तयार भएकी हुँ । नाम निस्कँदैन कि भन्ने लागेको थियो । योपटक असफल भए अर्कोपटक दिन्छु भन्ने थियो । यहीपटक निस्कियो,’ उनी भन्छिन् । उनले जनजाति आदिवासी र खुल्लामा दिएकी थिइन् । ‘सबैमा नाम निस्किएको थियो । तर, अन्तर्वार्तापछि मेरो खुल्लामै १६ नम्बरमा नाम निस्कयो,’ उनी भन्छिन् ।
ममीको चाहना भने नर्स बनाउने थियो । ‘शिक्षकमा नाम निकालेपछि खुसीले ममी रुनुभयो । ममी पनि निमाविको सामाजिक विषयको शिक्षक हुनुहुन्छ,’ उनी भन्छिन् । परिवारमा तीन जना नै शिक्षण पेसामा आबद्ध भएका छन् । ‘भाइ र बहिनी पढ्दै छन् । परिवारमा तीन जना शिक्षण पेसामा लाग्यौँ,’ लेकीडोमा भन्छिन् ।
शिक्षक बन्न के कुराले प्रेरित गर्यो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘कसैलाई बुझाउँदा सिकाउँदा मनमा आनन्द हुन्थ्यो । साथीहरूलाई सिकाउँदा साथीहरू खुसी भएको देख्दा शिक्षक हुन मन लागेको हो ।’ उनलाई धेरैले लोक सेवामा भिड्न पनि सुझाव दिएका थिए तर उनी मानिनन् । अबको एक महिनाभित्र जिल्ला, पालिका र विद्यालय छनोट हुन्छ । त्यसपछि उनी विद्यालयमा पढाउन जानेछिन् ।
‘अब पढ्दै पढाउँदै गर्ने हो । अर्को विकल्प छैन,’ लेकीडोमा भन्छिन् । उनी नेपालमै सम्भावना देख्छिन् । ‘विदेश जाने सोच छैन । जे गरे पनि नेपालमै गर्ने हो । सानैदेखि नेपालमै सरकारी जागिर खाने सोच थियो,’ उनी भन्छिन् । यो सफलताको श्रेय उनी बुबाममीलाई दिन्छिन् । ‘बुबाममीले यहाँसम्म ल्याउनुभयो । पहिलो महिनाको तलबले बुबा ममीलाई उपहार दिने हो । त्यसपछि पोखरा र लुम्बिनी घुमाउन लैजाने हो,’ उनी भन्छिन् ।
संखुवासभा सिलिचोङ गाउँपालिकाका माङ्तेवाका २० वर्षीय रविन राईले पनि निम्नमाध्यमिक तहमा नाम निकालेका छन् । उनले विज्ञान विषयमा नाम निकालेका हुन् । कान्छा शिक्षक भनेर उनलाई पनि बधाई र शुभकाना आइरहेको छ । लेकीडोमाको भन्दा केही महिनाले मात्र उनको उमेर बढी छ । यति धेरै चर्चा भएकोमा रविन आफैँ आश्चर्यमा परेका छन् । ‘म नै सक्ड भएँ,’ उनले भने ।
रविनले संखुवासभाको खाँदबारीस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका हुन् । उनले २०७८ मा १२ पास गरे । त्यसपछि उनी बीएडमा विज्ञान विषय पढ्न मोरङ आए । ‘बीएड पहिलो वर्षमा पढ्दै थिएँ । २०७९ मा शिक्षक लाइसेन्स खुलेको थियो । लाइसेन्स लिएँ,’ रविन भन्छन्, ‘२०८० मा शिक्षकको विज्ञापन खुलेको थियो । सिफारिस भएँ ।’ दोस्रो पेपरमा नाम ननिस्किएला कि भन्ने डर थियो उनलाई ।
‘नाम निस्किएपछि एक जना म्यामले बधाई दिएपछि थाहा पाएको थिएँ,’ उनी भन्छन् । बुबाआमाले खेती किसानी गरेर रविनलाई पढाएका थिए । ‘खेती किसानी गरेर हुर्काउनुभयो पढाउनुभयो,’ उनी भन्छन् । शिक्षण पेसामै लाग्नुको कारण के हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिक्षण पेसा हेपिएको जस्तो देखिन्छ । सम्पूर्ण पेसा नै शिक्षा र शिक्षकले जन्म दिने हो । त्यो अभिभारा पूरा गरौँ भनेर यो पेसा रोजेको हुँ ।’
अबको १ महिनाभित्र उनको पनि जिल्ला, पालिका र विद्यालय छनोट हुन्छ । विद्यालय छनोट भएपछि पढ्दै पढाउँदै गर्ने हो,’ उनी भन्छन् । नाम ननिकाल्दै पनि उनले पढाइ नै रहेका थिए । विदेश जाने योजना उनको पनि छैन । ‘एसईई सकेपछि विज्ञान विषय पढेर शिक्षक बन्ने योजना थियो । धेरै कमाउने सोच त मानिसको प्रवृत्ति नै हो तर अहिलेसम्म विदेश जाने सोच छैन,’ रविन भन्छन् ।
शिलापत्रमा पहिलो पटक प्रकाशित भएको हो ।
आइतबार, माघ ७, २०८०