‘स्वर्गमै पुगेको अनुभूति भयो,’ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आमा याङ्ग्री पिकमा पुगेका एक पर्यटक साथीहरूसँग भनिरहेका थिए । पारि हिमाल, वारि लुङ्दरले सजिएको थियो आमा याङ्ग्री ।
काठमाडौंबाट करिब ९० किलोमिटरको दूरीमा पर्ने ३ हजार ७ सय ७१ मिटर उचाइमा पर्यटक रमाइरहेका थिए । आमा याङ्ग्री धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य मानिन्छ ।
मनमोहक लाङटाङ हिमशृंखला, जुगल, गौरीशंकर, गणेश हिमाल यहाँबाट दृश्यावलोकन गर्न सकिन्छ । यात्राका क्रममा यो सिजनमा राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फूलेका छन् । राष्ट्रिय चरो डाँफे पनि यो क्षेत्रमा भेटिन्छ ।
यो क्षेत्रमा प्राचीन् गुम्बा, स्तुपाहरूको दर्शन र अवलोकन गर्न पाइन्छ । काठमाडौंबाट तार्केघ्याङसम्म सार्वजनिक बसमा जान सकिन्छ । आफ्नो सवारीसाधन भएमा बेस क्याम्पसम्म एकै दिनमा पुग्न सकिन्छ । बेस क्याम्पबाट बिहान ४ बजे हिँड्यो भने दुई–तीन घण्टामा आमा याङ्ग्री पिक पुगेर सोही दिन काठमाडौं फर्किन सकिन्छ । यो ट्रेल दुई दिनमा पूरा हुन्छ ।