आमाको काखबाट अपरिचित महिलाले लगेकी थिइन २६ दिनको शिशु 



काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-३ माझिफेदाकी २२ वर्षीया सविना श्रेष्ठ शुक्रबार बिहान १० बजे  कपनबाट थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन्  । उनको साथमा थिइन्, २६ दिनकी छोरी ।

२६ दिन अघि सुत्केरी भएकी श्रेष्ठ ओपीडी चेकजाँचका लागि अस्पताल पुगेकी थिइन् । जेठानीको साथमा गएकी सविना छोरीको एक्सरे गराएर अस्पताल बाहिर घाममा बसेकी थिइन । 

जेठानी अस्मिता श्रेष्ठ रिपोर्ट लिन अस्पतालभित्र थिइन्  । एक अपरिचित महिला आएर सविनालाई भनिन्, ‘एकैछिन बच्चा दिनु  न । बच्चा देखायो भने रिपोर्ट दिन्छ । म रिपोर्ट लिएर आउछु ।’ 

सविनाको काखमा रहेकी छोरी ती अपरिचित महिलाले खोसिन । ‘बच्चा देखाएर रिपोर्ट ल्याउँछु भनेर झुक्याएर अपरिचित महिलाले छोरी चोरिन । मभित्र रिपोर्ट लिन गएको थिएँ । बाहिर छोरी चोरी भएछ,’ अस्मिताले  भनिन् । 

उनीहरू करिब १० बजे अस्पताल पुगेका थिए । ‘छोरी चोरीहुँदा साढे ११ को हाराहारी थियो,’ अस्मिताले भनिन् ।अस्मिताको अनुसार, सविना अहिले बेहोस अवस्थामा छिन । ‘उनी बोल्न नसक्ने भएकी छिन,’ उनले भनिन् ।

अस्पतालमा यताउती हेर्दा छोरी लैजाने महिला फेला परिनन् । त्यसपछि सविनाले २३ वर्षीय श्रीमान पुजन श्रेष्ठलाई छोरी चोरी भएको जानकारी गराइन ।

पुजन राती गाडी चलाएको हुनाले छोरीको फलोअपका लागि भाउजुको साथमा श्रीमतीलाई अस्पताल पठाएका थिए ।

‘म राती गाडी चलाएर आएको भएर दाइले अस्पताल पुर्याइदिनु भएको । दाइले भाउजू र श्रीमतीलाई अस्पताल छोड्दिनु भएको हो । पहिलो सन्तान छोरी हो । चोरी भयो,’ पुजनले भने, ‘छोरी खोज्दै अहिले पनि सडकमै छु ।’ 

सुत्केरी श्रीमतीलाई कपन पठाएर उनी छोरी खोजीरहेका छन् । ‘प्रहरीले पनि खोजी रहेको छ । हामी पनि खोज्दै छौँ । फेला परेको छैन,’ उनले भने  । 

सीसीटिभी फुटेजमा कालो मास्क लगाएको महिलाले शिशु लगेको देखिन्छ । यसैको आधारमा प्रहरीको टोलीले शिशु खोजी गरिरहेको जनाएको छ । ‘प्रहरीको टोली खोजीमा लागिरहेको छ,’ अपराध महाशाखाका प्रवक्ता एसपी रविन्द्र रेग्मीले भने ।


Related Posts