चुनौतीको चाङमा नवनियुक्त उपकुलपति बराल, विश्वविद्यालयकाे साख फर्काउने अवसर



त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भए । पहिलोपटक आवेदन मागेर मेरिटका आधारमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई नियुक्त गरेका हुन् । ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिस्टमा परेका थिए । र, सिफारिसमा परेका तीन जनामध्येबाट बराल उपकुलपति बनेसँगै उनको हातमा त्रिविको बागडोर पुगेको छ । अति राजनीतीकरणले अस्तव्यस्त बनेको त्रिविलाई सुधार गर्नुपर्ने जिम्मेवारी अब उनको काँधमा आइपुगेको छ । के अहिलेको अवस्थामा त्रिविको स्वरुपलाई परिवर्तन गर्न सम्भव छ ? नवनियुक्त उपकुलपतिलाई के–के चुनौती छन् ? उनले तत्काल गर्नुपर्ने काम के हो ? आजको ‘विश्वविद्यालय विमर्श’मा नवनियुक्त उपकुलपतिका चुनौतीलाई प्रस्तुत गर्नेछौँ ।

०००

राजनीतिमुक्त त्रिवि  

त्रिविको समस्या र समाधानबारे शिलापत्रले लामो बहस गरेको छ । ‘विश्वविद्यालय विमर्श’को ३२औँ शृङ्खलासम्म आइपुग्दा अधिकांश विषय त्रिविसँग सम्बन्धित छन् । विमर्शमा प्रस्तुत गरिएका त्रिविको बेथिति र सुधारका खाकाहरूलाई नवनियुक्त उपकुलपतिले पछ्याउने हो भने चार वर्षको अवधिमा त्रिविमा सुधारको रेखा कोर्न असम्भव छैन । तर, उपकुलपति बरालले कत्तिको पहरेदारी गर्छन् भन्ने प्रश्न हो । यसमा विज्ञहरू पनि सहमत छन् । सुधारका लागि त्रिविलाई राजनीतिमुक्त बनाउनुपर्ने ‘शिलापत्र विमर्श’को निचोड छ । तर, तत्काल राजनीतिबाट त्रिविलाई मुक्त बनाउन कठिन देख्छन् पूर्वउपकुलपति कमलकृष्ण जोशी  ।

उपकुलपति नियुक्तिमै उनको गम्भीर प्रश्न छ । ‘पहिलेभन्दा ठीकै होला भन्ने लागेको थियो । तर, आशा गर्ने ठाउँ देखिएन । सर्ट लिस्ट जसरी तयार भयो, यसमा शंका गर्ने ठाउँ छ । अहिलेको यति प्रक्रियाले विश्वविद्यालयमा राजनीति अन्त्य हुँदैन । अब राजनीतिबाट त्रिवि मुक्त हुन्छ भन्ने विश्वास छैन,’ जोशी भन्छन् । पूर्वउपकुलपति केदारभक्त माथेमा उपकुलपतिले सुधारको खाका बनाएर राष्ट्रिय सहमति बनाउनुपर्ने मत राख्छन् ।

‘नयाँ भीसीले प्रधानमन्त्रीलाई भनेर सबै पार्टीलाई एक ठाउँमा राखेर मेरो सुधारको खाका यो हो भनेर राष्ट्रिय सहमति जुटाउनुपर्छ । राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता दलहरूबाट लिनुपर्छ,’ माथेमा भन्छन् । पूर्वउपकुलपति जोशी त्रिविमा दलहरूको भ्रातृ संगठनको अस्तित्व रहन नहुने तर्क गर्छन् । सुधारको बाधक नै दलहरूले बनाएको  विद्यार्थी, प्राध्यापक र कर्मचारीेको भ्रातृ संगठन देख्छन् उनी ।

‘पार्टीको भ्रातृ संगठन विश्वविद्यालयमा रहेसम्म राजनीति मुक्त त्रिवि हुँदैन । कुनै बेला संगठन आवश्यक थियो । अहिलेको समयमा भ्रातृ संगठनको अस्तित्व रहनु भएन । नयाँ भीसीका  लागि यो ठूलो चुनौती हो,’ जोशी भन्छन् । दलनिकटका शिक्षक, विद्यार्थी र कर्मचारीका कारण नै संगठित अपराध त्रिविमा मौलाउँदै गएको छ । यसलाई रोक्न नयाँ भीसीलाई चुनौती छ ।


Related Posts